विराटनगर , १२ चैत्र । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ।
हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा एक हजार एक सय ७३ दशमलव ५० क्विन्टल, जुम्लामा एक सय ३०, डोल्पामा पाँच सय ३५, कालीकोटमा एक सय ५० क्विन्टल गरी तीन हजार नौ सय आठ दशमलव पाँच क्विन्टल पोषणयुक्त चामल बिक्रीका लागि पठाइएको कम्पनीका कर्णाली प्रदेश निमित्त प्रमुख माधव मिश्रले जानकारी दिए । आठवटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको छ । हाल सम्म आठ हजार चार सय ७६ दशमलव ९० क्विन्टल चामल उत्पादन भएको छ ।
७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्व मिलाएर उत्पादन गरिने उनले बताए। हुम्लामा विमानबाट चामल ढुवानी हुँदै आएको छ । निमित्त प्रमुख मिश्रका अनुसार साविकको कर्णालीमा मात्र पहिलो चरणमा भए पनि आउँदो आर्थिक वर्षमा कर्णालीका सबै जिल्लामा उक्त चामल बिक्री गरिने छ । यस विधिमा भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ एक्स्टुुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुनेगरी उत्पादन गरिन्छ।
स्तरोन्नति गरिएको चामलमा आइरन, जिङ्क, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाएर तयार गरिन्छ। दोस्रो चरणमा अन्य जिल्लामा पनि वितरण गरिने भएको छ।
खाद्यविज्ञका अनुसार पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल साथसाथै दाल, तरकारी र फलफूल, माछा, मासु, दूधजन्य परिकार आदि मिलाएर उपयोग गरेमा शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ।
निकट भविष्यमा निजी क्षेत्रबाट पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलको दाना नेपालमै उत्पादन गर्ने व्यवस्था मिलाइने बताइएको छ। कर्णालीका ३६ वटा डिपोमा प्रदेश कार्यालयबाट स्टिम जिरा चामल १६ हजार आठ सय २० दशमलव २५ क्विन्टल चामल पठाइएको छ ।
लहान, थापाथली, वीरगञ्ज, विराटनगर, राजापुर, धनगढी, विर्तामोड, महेन्द्रनगरबाट कर्णालीमा खाद्यान्न आउने गर्दछ ।