चार सय केभीको तेस्रो ठुलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
२६ जेठ २०८१, शनिवार
0
प्रतिक्रिया
विराटनगर ,२६ जेठ । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानार्भयाङमा चार सय केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो चार सय केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी चार्जसमेत गरिएको छ । त्यसैगरी नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाबाट थानार्भयाङमा नै २२० र १३२र११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी चार्ज गरिएको छ ।
पूर्व–पश्चिम विद्युत आपूर्तिलाई भरपर्दाे तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर देशकै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठुलो सबस्टेसन हो । हेटौँडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै झन्डै चार हजार मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ । हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम चार हजार मेगावाट विद्युत प्रवाह गर्न सकिने हुँदा आन्तरिक रुपमा विद्युत आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत व्यापार थप बिस्तार हुनेछ ।
आयोजनाअन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण अन्तिम चरणमा छ भने हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ । हेटौँडा उपमहानगरपालिकका १५, १६, १७ र ११ नम्बर वडाहरुमा स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन । अवरोध नभएका ठाउँमा निर्माण भइरहेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा सबस्टेसनबाट स्थानीय रुपमा पनि विद्युत आपूर्ति गरिने हुँदा हेटौडा, भरतपुर, सिमरा तथा वीरगञ्ज क्षेत्रको विद्युत आपूर्तिलाई थप भरपर्दाे र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले नेपालका मध्य क्षेत्रका नदी कोरिडोरका जलविद्युत आयोजनावाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गरी देशभित्र खपत गरी बचत भएको विद्युत हेटौडा– ढल्केबर चार सय केभी प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गर्न थप सहज हुने बताउनुभयो । त्यस्तै सबस्टेसनले हेटौँडाबाट भरतपुर बर्दघाट हुँदै नयाँ बुटवल सबस्टेसनसम्म विद्युत प्रवाहका लागि सहजता प्रदान गर्नेछ । हेटौँडा सवस्टेसनलाई आवश्कता अनुसार भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरि निर्माण गरिएको आयोजना प्रमुख शुक्र देवकोटाले बताउनुभयो ।