कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को १० महिनाको अवधिमा कुल बजेटको ३६.२८ प्रतिशत मात्र खर्च गरेको छ ।
३६ अर्ब २ करोड रुपैयाँको कुल बजेटमध्ये वैशाख मसान्तसम्म जम्मा १३ अर्ब ७ करोड १० लाख रुपैयाँ खर्च भएको हो ।
प्रदेशको विकास खर्चको अवस्था झनै कमजोर देखिएको छ । १७ अर्ब १४ करोड विकास बजेटमध्ये जम्मा ५ अर्ब २९ करोड मात्र खर्च भएको छ ।
अब बाँकी दुई महिनामा का लागि खर्चको ठुलो दबाब छ, जसले गर्दा गुणस्तरहीन ‘असारे विकास’ ले प्रश्रय पाउने जोखिम बढेको छ ।
सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले ७ अर्ब १८ करोड रुपैयाँ खर्च गर्न बाँकी छ । राजस्व सङ्कलनतर्फ भने सरकारले १० महिनामा २५ अर्ब ५ करोड रुपैयाँ संकलन गरेको छ ।