.

पूर्व सामान्य प्रशासनमन्त्री खेमराज भट्टको निधन

विराटनगर , ५ असोज । पूर्व सामान्य प्रशासनमन्त्री खेमराज भट्ट मायालुुको बिहीबार राति निधन भएको छ । क्यान्सरबाट ग्रसित उनको काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 


उनका छोरा आकाश भट्टले बिहीबार राति १०स्२५ बजे आफ्ना बुबाको निधन भएको पुष्टि गरे । उनको शुक्रबार बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

डडेलधुरामा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् । कांग्रेसको राजनीतिक पृष्ठभूमिबाट आएका भट्ट २०३० सालतिर रामराजाप्रसाद सिंहले जनवादी मोर्चा गठन गर्दा त्यतै लागे ।

सो मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ सालमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको थियो । उनी त्यसबेला मोर्चाको उपाध्यक्ष थिए ।

तर पछि फेरि कांग्रेसमै समाहित भएका भट्टले कांग्रेसबाटै चुनाव जितेर मन्त्रीसमेत भए ।

उनी २०५६ सालमा बर्दियाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने ०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री भएका थिए ।


पछि उनी कांग्रेस छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया