.

एमाले बागमती प्रदेश अधिवेशनको तयारी पुरा

विराटनगर , ७ असोज । नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौंमा हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट भोलि उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।


एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले प्रतिनिधि चयनको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भएको बताउनुभयो । अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदै छन् ।


अधिवेशनबाट १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित २४० सदस्यीय कमिटी चयन गर्ने उहाँले बताउनुभयो । उक्त कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता हुनेछ भने १० प्रतिशत ४० वर्ष भन्दा कम उमेर समूहका व्यक्ति रहने उहाँको भनाई छ । यस्तै, जनजाति, पिछडिएको वर्ग, दलितहरूको सहभागितामा कमिटीलाई समावेशी बनाइने एमाले बागमतीले जनाएको छ ।


अध्यक्ष पाण्डेले नेतृत्व चयन सर्वसम्मतरूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुनसक्ने बताउनुभयो ।


उहाँले भन्नुभयो,‘मुलुकको राजधानीसमेत रहेको प्रदेश कमिटीको प्रथम र ऐतिहासिक अधिवेशन हुँदैछ । यसमा स्वभाविकरूपमा चासो र आकर्षण हुन्छ । प्रतिनिधिहरू आइसकेपछि उहाँहरुको भावनाअनुसार हामी अघि बढ्छौँ । तर, बाहिर आएजस्तो कुनै गुटबन्दी र अस्वस्थ्य प्रतिस्पर्धा हामीमा छैन । पार्टीको नेतृत्वबाट पनि यो हुनुपर्छ या हुनुपर्दैन भन्ने कुनै सन्देश आएको छैन । यो प्रदेश कमिटीका प्रतिनिधिकै हातमा रहेको निर्णय हो । मुख्य कुरा पार्टीको लक्ष्य र गन्तव्यअनुसार हामी प्रभावकारीरूपमा चल्ने भन्ने नै हो ।’


यस्तै, एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले अधिवेशनको तयारी पूरा भएको बताउनुभयो । उहाँले अध्यक्षका लागि नेताहरुले आकांक्षा देखाएपनि नयाँ नेतृत्व सर्वसहमति रुपमा चयन हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘नेतृत्वका लागि धेरै नेताहरुले आकांक्षा देखाउनुभएको छ । तर, यहाँ सर्वसहमतिले नै नेतृत्व चयन हुन्छ । अहिले अध्यक्षमा आकांक्षी देखाउनु स्वभाविक हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया