विराटनगर , १५ असोज।नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशन आजदेखि पोखरामा सुरु भएको छ। अमरसिंहचौरमा भएको उद्घाटनमा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भनिएपनि अन्तिम समयमा ओली सहभागी भएनन्।
मौसम खराबीका कारण समयमै उडान हुन नभएपछि अध्यक्ष ओली पोखरा नआएका हुन्। ओली नआएपछि महासचिव शंकर पोखरेलले अधिवेशनको सम्बोधन गरेका छन्। पोखरा आउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म आएपनि समयमै उडान नभएपछि अध्यक्ष ओली फर्किएको पोखरेलले जानकारी दिएका थिए।
त्यस अवसरमा नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्टले गठबन्धन सरकारप्रति युवाहरुको आशा मरेको बताए। उनले गठबन्धन सरकारप्रति आशा मरेकै कारण युवाहरु देश छाडेर टाढा टाढा गइरहेको बताए। ‘गठबन्धन सरकारप्रति युवाहरुको आशा मरेको छ,’ उनले भने, ‘त्यहि भएर युवाहरु दिनहुँ लामबद्ध हुँदै देश छाडेर टाढा टाढा गइरहेका छन्।’
सचिव विष्टले गठबन्धन सरकार रेडियो टेलिभिजनमा मात्र देखिएको टिप्पणी समेत गरे। ‘सरकार रेडियो टेलिभिजनमा मात्र देखिएको छ, नत्र अन्यत्र देखिएको छैन,’ उनले भने, ‘युवाहरुको आशा भरोसामा, बेरोजगारीले, मजदुरले, उत्पीडित समुदायले सरकार देख्न सकेका छैनन्।’
सचिव विष्टले भोका नांगाप्रति सरकार उदासिन बनेको आरोप लगाए। ‘सरकार राष्ट्रिय समस्याप्रति पनि उदासिन छ,’ उनले भने, ‘यो सरकारको अगाडि गुनासो गर्नु भनेको भैंसीको अगाडि बाँसुरी बजाए जस्तै हो। जति बजाएपनि केहि फरक पर्दैन।’
अधिवेशनमा ९०७ जना प्रतिनिधि रहने एमाले गण्डकीका उपसचिव एवम् प्रचारप्रसार उपसमिति संयोजक रश्मि आचार्यले जानकारी दिए। उनका अनुसार कास्कीबाट १४६, स्याङ्जाबाट ११३, गोरखाबाट ५३, बागलुङबाट ७२, पर्वतबाट ११०, नवलपुरबाट १०९, तनहुँबाट ८२, मुस्ताङबाट १६, लमजुङबाट ६५, मनाङबाट १४, म्याग्दीबाट ४२ र जनसंगठनबाट ८६ जना प्रतिनिधिका रुपमा सहभागि हुनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?