विराटनगर , १५ असोज।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा त्यसका संरक्षकहरू संगठित भएर आक्रमण ढंगले लागेको बताउनुभएको छ ।
आज हेटौंडामा सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर बाहिर पठाउने गिरोहलाई अनुसन्धान गरेर कानुनको दायरामा ल्याई केही व्यक्तिहरू अहिले जेलमा रहेकोसमेत बताउनुभयो।
उहाँले भन्नुभयो,‘ललिता निवासको काण्डमा पनि सरकारी जग्गा मालपोत कार्यालयका कर्मचारीहरू, राज्यका कतिपय अधिकारीहरू र दलालहरू मिलेर व्यक्तिको नाममा बनाएर राज्यलाई लुट्ने कार्यको पनि वर्तमान सरकारले प्रहरीद्वारा अनुसन्धान बढाएर अदालत पुर्याएका छौं।’
सरकारको जग्गा सरकारकै नाममा ल्याउने आधार तय भइसकेको भन्दै उहाँले सरकार त्यसमा पहल गरिरहेको बताउनुभयो।
यस्तै, सुन तस्करीको विषयमासमेत अनुसान्धान प्रक्रिया अघि बढिरहेको बताउनुभयो। ‘यस्ता भष्ट्रचार र अपराधविरुद्धका काम गर्दा तिनीहरू संगठितरूपमा मन्त्रीको वा सरकारप्रति आक्रमण ढंगले अघि बढिरहेका छन्,’ उहाँले भन्नुभयो,‘यो अभियान निरन्तर चलिरहन्छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?