विराटनगर, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ । राति आइपुग्नुभएका उहाँलाई
परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत
गर्नुभयो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण
गरेको थियो । महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज
राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री
पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँको कार्यालयमा शिष्टाचार भेट गर्नुहुने
कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा
एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा
बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ । यस्तै, उपप्रधानमन्त्रीहरु पूर्णबहादुर
खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव
गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि उहाँले
ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको
पनि अवलोकन गर्नुहुनेछ । प्रधानमन्त्री प्रचण्डले महासचिव
गुटेरेसको सम्मानमा आज बेलुका सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको
आयोजना गर्नुहुनेछ । भ्रमणका क्रममा भोलि उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण
आधार शिविर र लुम्बिनी जानुहुनेछ । पर्सि मङ्गलवार दिउँसो ४ बजे उहाँले
सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद्
सचिवालयले जनाएको छ । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको
महासचिव भएपछि पहिलो पटक नेपालको भ्रमण गर्न लाग्नुभएका गुटेरेसले यहाँको
शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्नुहुने
मन्त्रालयले जनाएको छ । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कुटनीतिक क्षेत्रमा महत्त्वकासाथ हेरिएको छ ।