विराटनगर , १२ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहालबीच विभिन्न समसामयिक विषयमा छलफल हुने भएको छ।
चारदिने औपचारिक भ्रमणमा नेपाल आएका राष्ट्रसङ्घका महासचिव गुटेरेस र प्रधानमन्त्री दाहालबीच आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेटवार्ताको समय तोकिएको छ।
भेटवार्ताको क्रममा विश्व शान्ति, नेपालको प्रेस सोर्स, जलवायु परिवर्तन र त्यसले नेपालमा पारेको असर, अति कम विकसित राष्ट्रहरूसँग विकसित राष्ट्रहरुले गरेका प्रतिवद्धता पूर्ति र संयुक्त राष्ट्रसङ्घले गर्न सक्ने सहयोग, नेपालमा शान्ति प्रक्रियाको अवस्था लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
गएराति १ बजे नेपाल आइपुगेका महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्नेछन्। । यस्तै महासचिव गुटेरेसले आजै पाटन दरवार क्षेत्रको पनि अवलोकन गर्नेछन् भने प्रधानमन्त्रीले आयोजना गर्ने रात्री भोजमा पनि उनको सहभागी हुने कार्यक्रम रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?