विराटनगर ,३१ बैशाख । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका यादवले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनुभएको हो ।वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले राजीनामा दिएको यादवले बताउनुभयो ।
त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री दीपक कार्कीले पनि आजै पदबाट राजीनामा दिनुभएको छ । जसपा राजनीतिक समिति सदस्यसमेत रहेका उहाँले आजै राजीनामा बुझाउनुभएको हो ।
मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिएलगत्तै जसपा नेपाल सङ्घीय सरकारबाट फिर्ता भएको हो । जसपा नेपालले नेतृत्व गरेको मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले हिजो समर्थन फिर्ता लिएका हुन् । मधेशमा अब एमाले, माओवादी केन्द्र, जनमत र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर सरकार बनाउने सहमति भएको छ ।
पार्टी विभाजनपछि सत्ता समीकरणमै रहने बताएका यादव जसपा नेतृत्वको मधेश सरकार अल्पमतमा परेसँगै सङ्घीय सरकारबाट बाहिरिनुपर्ने बाध्यात्मक अवस्था आएको हो । केही दिनअघि यादव नेतृत्वको जसपा नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जसपा गठन भएको छ ।