.

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगर्ने कांग्रेसको निर्णय

विराटनगर १ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ। आज बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संवैधानिक व्यवस्थाअनुसार राष्ट्र प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकाले ३ बजे बस्ने संयुक्त बैठकमा अवरोध नगर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले छानबिन समिति गठन नभएसम्म नीति तथा कार्यक्रमपश्चात बस्नै दुवै सदनका बैठक सञ्चालन गर्न नदिने उनले स्पष्ट पारे। उनले संसदमा सहकारी अपचलनबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग पूरा नभए प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक अवरोध जारी राख्ने अडान लिएको लेखकले बताए।  संयुक्त बैठक र नियमित बैठक फरक–फरक भएकाले राष्ट्रप्रमुख आउँदा अवरोध नगर्ने निर्णय भएको उनको दाबी छ। छानबिन समिति गठन गर्न सरकार उदासिन बनेको कांग्रेसको ठहर छ। 
त्यस्तै आजै सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विभिन्न चरणमा छलफल भएर १६औं योजना पारित गरेको जानकारी दिइन् ।  सोहि नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले आज दिउँसो संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सार्वजनिक गर्ने कार्यसूची छ।
सरकारको सिफारिसमा आज ३ बजे राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि २ः४५ भित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न सांसदहरूलाई संसद सचिवालयले आग्रह गरेको छ। संयुक्त बैठकपश्चात साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। उक्त बैठक अवरोध गर्ने कांग्रेसले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया