मधेसका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ
२५ जेठ २०८१, शुक्रवार
0
प्रतिक्रिया
विराटनगर , २५ जेठ ।मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ लिएका छन् ।
शुक्रबार जनकपुरमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।मुख्यमन्त्री सिंहसँगै नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् ।
अर्थमन्त्रीमा भरतप्रसाद शाह, उद्योग, वाणिज्य र पर्यटनमन्त्रीमा युवराज भट्टराई, भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, भूमि व्यवस्थामन्त्रीमा गोविन्दबहादुर न्यौपाने, शिक्षामन्त्रीमा राजकुमार लेखीले शपथ लिएका हुन् ।त्यस्तै, स्वास्थ्यमन्त्रीमा शत्रुघनप्रसाद सिंह, ऊर्जामन्त्रीमा बेची लुङ्गेली, खेलकुदमन्त्रीमा प्रमोदकुमार जयसवालले शपथ लिएका छन् भने गृह, सञ्चार तथा कानुनमन्त्रीमा विमला अंसारी, श्रम तथा यातायातमन्त्रीमा उर्मिला चौधरीले शपथ लिएका छन् ।
वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्रीले नै सम्हाल्ने छन् । जनमत पार्टीका सांसद सिंह संविधानको धारा १६८ को उपधारा २ बमोजिम शुक्रबार नै मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
यसअघिका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।