.

सबै तहका पार्टी कमिटीमा सहकारी संस्थाको अध्ययन गरेर सही बाटोमा अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्रीको जोड


विराटनगर , २५ जेठ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा र्डोयाउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने बताउनुभएको छ ।
सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्नुहुँदै नेकपा(माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले सबै तहका पार्टी कमिटीमा सहकारी संस्थाको अध्ययन गरेर सही बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 
सहकारीको आधारभूत सिद्धान्तबाट च्यूत हुँदा कोभिड महामारीलगायत विश्वव्यापीरूपमा देखिएका आर्थिक सङ्कटको प्रत्यक्ष प्रभावका कारण नेपालका सहकारीले सङ्कटको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सहकारी क्षेत्रका समस्या सम्बोधन गर्न सरकारले नीतिगत र व्यावहारिक समाधानका विभिन्न उपाय अवलम्बन गर्दै आइरहेको बताउनुभयो ।  सहकारी क्षेत्रको व्यवस्थापनका लागि सरकारले यस वर्षको बजेटमा कानुनमा आवश्यक संशोधन गरी सहकारिताको सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने बताउनुभयो । 
बचत तथा ऋण सहकारीलाई एकआपसमा गाभिन सहजीकरण गर्ने र बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा रू पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्था मिलाउने लगायतका व्यवस्था बजेटमा गरिएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।
सङ्कटग्रस्त एवं समस्याग्रस्त सहकारीको अवस्था, बचतकर्ताको निक्षेप अपचलन भए नभएको अध्ययन, दोषीमाथि कारबाहीको सिफारिस र समस्या समाधानका लागि सुझाव प्रस्तुत गर्न अधिकारसम्पन्न संसदीय समिति गठन गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्कटग्रस्त सहकारीको अवस्थाको अध्ययन गर्नुका साथै सहकारी क्षेत्रका समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक सुझाव समितिले प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पछिल्लो समय नेपालको सहकारी आन्दोलनले गम्भीर चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले समस्या देखाएर आन्दोलनलाई निस्तेज पार्ने काम रोक्नुपर्ने बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, पार्वती थापालगायतले सहकारीको महत्व र यसको क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारे पहलकदमी लिनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया