योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री
८ असार २०८१, शुक्रवार
0
प्रतिक्रिया
विराटनगर ,७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनुभएको छ ।
विश्व योग दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
योग शारीरिक अभ्यासमात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
तनावमुक्त शान्त मन र रोगमुक्त स्वस्थ शरीर विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्रीले योग र ध्यानका अभ्यासहरूबाट नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गर्नुुभयो ।
योग नेपालको आम जीवनपद्धति एवं अमूल्य निधि भएको बताउँदै प्रधानमन्त्री दाहालले प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालय भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
यसै गरि
आज विश्व सङ्गीत दिवस पनि मनाइँदैछ । पहिलो पटक सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाउने गरिएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस् विशेष उत्सवका रुपमा मनाइन्छ ।
नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ–आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् ।
बहुजाति, भाषा, धर्म अनि संस्कृति भएको देश नेपालमा मादल, सारङ्गीदेखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरीदेखि विनायोसम्म मौलिकता थप्ने बाजाहरु छन् ।