नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि बसेको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीचको पहिलो चरणको वार्ता बिना निष्कर्ष सकिएको छ।
बालुवाटारमा भएको उक्त छलफलमा दुवै पक्षले आ–आफ्ना अडान र प्रस्तावहरू राखे पनि कुनै ठोस सहमति जुट्न नसकेको हो।
वार्ता टोलीका सदस्य एवं विशेष महाधिवेशन पक्षधर नेता मधु आचार्यले पहिलो चरणको छलफलमा कुनै सहमति हुन नसकेको र अब दोस्रो चरणको वार्तामा बस्ने वा नबस्ने भन्ने विषय शीर्ष नेताहरूसँगको परामर्शपछि मात्रै टुङ्गो लाग्ने जानकारी दिएका छन्। ।
विशेष महाधिवेशन पक्षधरका तर्फबाट केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्यसहित नेताहरू गुरुराज घिमिरे र देवराज चालिसे वार्तामा सहभागी थिए। त्यस्तै, संस्थापन र शेखर कोइराला समूहको प्रतिनिधित्व गर्दै नेताहरू बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र डा. मिनेन्द्र रिजाल छलफलमा बसेका थिए।
वार्तामा विशेष महाधिवेशन पक्षधरले विधान सम्मत महाधिवेशन र नीतिगत स्पष्टताको माग राखेका छन् भने संस्थापन पक्षले वार्तामा अस्वाभाविक मागहरू आएका कारण तत्काल निकास भेट्न कठिन भएको टिप्पणी गरेको छ। अब नेताहरूबीच हुने आन्तरिक छलफलले मात्र आगामी वार्ता र पार्टीको भविष्यको दिशा तय गर्ने देखिएको छ।