.

जग्गा हिनामिना प्रकरणः पूर्वप्रधानमन्त्री नेपालविरुद्धको मुद्दामा आज पेसी

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा आज (बुधबार) का लागि पेसी तोकिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासमा यो मुद्दाको सुनुवाइ हुने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते नेपालसहितका प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तत्कालीन प्रधानमन्त्रीको हैसियतमा पदको दुरुपयोग गर्दै सरकारी र सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको आरोप अख्तियारले लगाएको छ। अभियोगपत्रमा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजायको मागदाबी गरिएको छ।

नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिने निर्णय गरेको थियो। नेपालले २०६६ माघ १८ गते ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिएको दाबी अख्तियारले गरेको छ।

कुल ३१४ रोपनी १५ आनाभन्दा बढी जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा सरकारी कर्मचारी र अन्य व्यक्तिसहित ९३ जनालाई विपक्षी बनाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया