.

नक्कली भुटानी शरणार्थी प्रकरणः अन्तिम सुनुवाइ सुरु

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहमा संलग्न रहेको अभियोग लागेका पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री र उच्च पदाधिकारीहरूविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतमा अन्तिम सुनुवाइ सुरु भएको छ। जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा आइतबारका लागि यस मुद्दाको पेसी तोकिएको हो।

संगठित अपराधसहित पाँचवटा गम्भीर अभियोगमा मुद्दा दायर भएको करिब साढे दुई वर्षपछि अदालतले अन्तिम सुनुवाइ प्रक्रिया अघि बढाएको हो।

यस प्रकरणमा १० जेठ २०८० मा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र पूर्वसांसद आङटावा शेर्पासहित ३० जना विरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दायर भएको थियो।

त्यस्तै, २०८१ वैशाखमा केशव दुलालसहित ५ जना र साउनमा बेचन झाविरुद्ध पूरक अभियोगपत्र दायर गरिएको थियो। अदालतले अहिले यी तीनवटै मुद्दालाई लगाउमा राखेर एकैसाथ सुनुवाइ गर्दैछ।

यसअघि नै साक्षीहरूको बकपत्र गराइसकिएको छ भने केही अभियुक्तहरू उच्च अदालतको आदेशले धरौटी र तारेखमा छुटेका छन्। टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे र इन्द्रजित राई लगायतका केही मुख्य अभियुक्तहरू भने हाल थुनामै छन्। यस प्रकरणमा मुख्य बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी र सन्देश शर्मासहित ३६ भन्दा बढी व्यक्ति प्रतिवादी छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया