.

प्रधानमन्त्रीको निर्देशन : विकास निर्माणका काम गर्दा धार्मिक र सांस्कृतिक सम्पदालाई असर नपुर्याउनू

प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारसहितका विकास निर्माणका काम अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर नपुग्ने गरी अघि बढाउन निर्देशन दिएकी छन् ।

मुलुकको प्राथमिकताप्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गको निरीक्षणका क्रममा मंगलबार ललितपुरको खोकनामा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले स्थानीयवासीका सरोकारलाई गम्भीर रूपमा लिई समाधान खोज्न सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन्। प्रधानमन्त्री कार्कीले आवश्यक परे आयोजना रेखाङ्कन तथा जिरो बिन्दु समेत परिवर्तन गर्न सकिने स्पष्ट गर्दै स्थानीयको धार्मिक,सांस्कृतिक विश्वासमा आघात नपुग्ने गरी विकास निर्माण अघि बढाउनुपर्नेमा जोड दिइन्।उनले भौतिक संरचना निर्माण गर्दा पर्याप्त खुला तथा खाली स्थानको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै प्राकृतिक विपद्का बेला,आवतजावत,मेला,पर्व तथा सामाजिक भेला–जमघटका लागि खुला स्थान अनिवार्य हुने बताइन्। 

निरीक्षणका क्रममा प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले द्रुतमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति,चुनौती तथा आगामी कार्ययोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। 

प्रधानमन्त्रीको निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री,परराष्ट्र मन्त्रीलगायत सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया