.

अपराध न्युनीकरण गर्न स्थानीय तह प्रहरी कार्यक्रम

विराटनगर ,१४ चैत्र । अपराध रोकथाम र न्युनीकरण गर्ने उद्देश्यले मोरङको कटहरी गाउँपालिकाभित्रका विद्यालयहरूमा ‘स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सुरू हुने भएको छ ।
आगामी नयाँ शैक्षिक सत्रदेखि कटहरी गाउँपालिकाभित्रका सामुदायिक र निजी विद्यालयहरुमा उक्त कार्यक्रम सुरू गर्न कटहरी गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मोरङ र विद्यालयहरूबीच मंगलबार त्रीपक्षीय समझदारी भएको हो ।
समझदारी पत्रमा कटहरी गाउँपालिकाको तर्फबाट अध्यक्ष देवराज चौधरी, जिल्ला प्रहरी कार्यालय मोरङको तर्फबाट मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की र विद्यालयका प्रधानध्यापकहरुले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बोल्दै मोरङ प्रहरी प्रमुख एसपी कार्कीले स्थानीय तहको विद्यालयमा प्रहरी कार्यक्रमले समाजमा हुने अपराधिक गतिविधि रोकथाम र नियन्त्रणको लागि अभियान सुरु गर्न लागेको बताए ।
यस्तो अभियानले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सामाजिक सुरक्षाका विविध पाटाहरूका बारेमा सु–सूचित गराउन मद्दत पुग्ने उनले बताए । कार्यक्रममा बोल्दै कटहरी गाउँपालिका अध्यक्ष चौधरीले अपराधरहीत, सुरक्षित, सभ्य र सु–संस्कृत समाज निर्माणका लागि प्रहरी समुदाय स्थानीय तह विद्यालय कार्यक्रमलाई प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिए । 
स्थानीय तहमा सुरक्षाको प्रभावकारी समन्वयका लागि प्रहरी कार्यलाई विद्यालय स्तरमा विस्तार गरेर अगाडि बढनुपर्ने उनले बताए । कार्यक्रममा कटहरी गाउँपालिका भित्रको १९ वटा सामुदायिक विद्यालयका प्रअ र निजी विद्यालयका शिक्षकहरुको सहभििागता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया