.

विराटनगरमा पूजाआजा गरेर मन्साएको भाँडो बमजस्तै देखिएपछि‘ बजारमा त्रास सृजना

विराटनगर महानगरपालिका–७ डाँफे चोकमा मंगलबार बिहान भेटिएको  शंकास्पद बस्तुले बजारमा त्रास सृजना गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङ अगाडिको चोकमा भेटिएको वस्तु बम जस्तो देखिएपछि जनजीवन त्रसित बनेको थियो । तर, उक्त शंकास्पद वस्तु पूजाआजा गरेर मन्साएको माटोको भाँडो रहेको पत्ता लागेको छ ।

ब्मखभचतष्कझभलत


वडा प्रहरी कार्यालय विराटनगरको टोली गस्ती गर्दै जाने क्रममा बिहानका राति २ बजेतिर कालो प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला पारेको थियो । त्यसलगत्तै पुगेको डीएसपी अनमोल खड्का नेतृत्वको टोलीले वरपर कडाइ गरेर मानिस तथा सवारीसाधन आवतजावतमा रोक लगाउँदै घटनास्थललाई सुरक्षित राख्यो । सिसी क्यामेरामा हेर्दा स्कुटरमा आएका व्यक्तिले राखेको देखियो ।


घटना शंकास्पद देखिएपछि वस्तु निष्क्रिय पार्न नेपाली सेनाको सूर्यदल गण थलाहामा खबर गरियो । सेनाको टोली घटनास्थल पुगेर निष्क्रिय पार्दा उक्त वस्तु बम नभई पूजाआजा गरेर मन्साएको माटोको सानो हाँडी रहेको स्पष्ट भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार उक्त हाँडीभित्र पूजा गर्दा मन्साएका खरानीलगायतका वस्तुहरु फेला परेको थियो ।


उक्त वस्तु बिहान ७ बजेतिर सेनाले डिस्पोज गरेको हो ।


प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भइसकेपछि फेला परेको शंकास्पद वस्तुका कारण निक्कै बेर त्रास सिर्जना भएको थियो । चुनावी सुरक्षामा केन्द्रित हुनुपर्ने प्रहरीलगायतका सुरक्षा निकायलाई पनि व्यस्त बनायो ।


चुनावको मुखमा रातिको समय व्यस्त बजारमा शंकास्पद झोला राख्ने व्यक्तिको खोजी एसपी कटवालले बताए ।


एसपी कटवालले चुनाव लक्षित सुरक्षा व्यवस्था कडा पारिएको बताए । चुनाव विरोधी कुनै गतिविधि भएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न सबैमा उनको आग्रह छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया