.

पश्चिममा सुरु भएको वर्षा पूर्व सर्दै

नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज बिहानैदेखि पश्चिम क्षेत्रबाट वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गएको छ। डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, गुल्मी, कास्की र पाल्पा लगायतका जिल्लामा बिहानैदेखि वर्षा भइरहेको छ भने यो प्रणाली अहिले चितवनसम्म आइपुगेको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार पछिल्लो एक घण्टामा गुल्मीमा १७ र तनहुँमा ११ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। हाल मधेस, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ भने कोसी र गण्डकी प्रदेशमा आंशिक बादल लागेको छ। तराई र उपत्यकाका केही स्थानमा हुस्सु समेत लागेको विभागले जनाएको छ।

आज देशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। केही हिमाली क्षेत्रमा हिमपात हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। सूचना अधिकारी कायस्थका अनुसार अझै केही दिन देशभर बदली र वर्षाको क्रम जारी रहने देखिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया