विराटनगरमा जारी विराट गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा हार व्यहोरेपछि चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक रमेश दंगालले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
बिहीबार राति सहिद मैदानमा भएको खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबसँग ३–० ले पराजित भएपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक दंगालले फिफा रेफ्री श्याम दनुवारको भूमिकामाथि प्रश्न उठाएका हुन् ।
प्रशिक्षक दंगालले आफ्नो क्लब एक प्रतिष्ठित र ऐतिहासिक टिम भएको उल्लेख गर्दै ठूलो लगानी गरेर टप खेलाडीहरू अनुबन्ध गरिएको बताए । तर, मैदानमा रेफ्रीको ‘विवादास्पद’ निर्णयका कारण नतिजा अस्वाभाविक आएको उनको दाबी छ ।
दंगालले रेफ्रीका केही विशिष्ट निर्णयहरूलाई बुँदागत रूपमा गल्तीका रूपमा औंल्याएका छन् । उनका अनुसार पहिलो हाफमा चर्च ब्वाइजले गोल गर्ने स्पष्ट अवसर प्राप्त गरेको बेला रेफ्रीले बिना कुनै ठोस कारण फउल दिएर खेल रोकेका थिए । यस्तै, ७ नम्बर जर्सीका खेलाडी बल लिएर अगाडि बढ्दा विपक्षीले पछाडिबाट तान्दा समेत रेफ्री मौन बसेको र आफ्ना खेलाडीलाई अनावश्यक कार्ड दिएको तर विपक्षीलाई उस्तै गल्तीमा कुनै चेतावनी नदिएको उनको आरोप छ ।
चर्च ब्वाइजका कप्तान दिप कार्कीले भने रेफ्रीको निर्णयसँगै टोली फिनिसिङमा चुक्नु पनि हारको अर्को कारण रहेको स्वीकार गरे । उनले पाएका अवसरहरूलाई सदुपयोग गर्न नसक्नु आफ्नै कमजोरी रहेको बताए ।अब शनिबार राति ७ बजे हुने फाइनल भिडन्तमा उपाधिका लागि झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब भिड्नेछन् । सम्राट क्लब पहिलो पटक विराट गोल्डकपमा सहभागी हुँदै फाइनलसम्म पुग्न सफल भएको हो । यसअघि सम्राटले भारतको विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । अर्कोतर्फ, झापा–११ ले नेपाल पुलिस र त्रिभुवन आर्मी जस्ता विभागीय टोलीलाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।