सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा लामो समयदेखि देखिँदै आएको ढिलाइ अन्त्य गर्दै सरकारले अब २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था लागू गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षणपछि शुक्रबारदेखि नै यो प्रणाली कार्यान्वयनमा आएको जानकारी दिएका हुन् । मन्त्री तिमिल्सिनाले ट्रायल पास गरी राजस्व बुझाइसकेपछि सेवाग्राहीले अब बढीमा एक दिनभित्र लाइसेन्स प्राप्त गर्ने व्यवस्था सुरु गरिएको बताए ।
उनका अनुसार लामो समयदेखि सेवाग्राहीले भोग्दै आएको ढिलाइ र झन्झट अब अन्त्य गर्ने दिशामा सरकार अघि बढेको छ । उनले निरीक्षणका क्रममा पुराना समस्या र व्यवस्थापनगत कमजोरीका कारण सेवाप्रवाह प्रभावकारी बन्न नसकेको स्वीकार गर्दै अब त्यस्ता कमजोरी सुधार गरेर प्रणालीलाई चुस्त बनाइने बताए ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले केन्द्रले आगामी दिनमा सेवा क्षेत्र विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनका अनुसार अब लाइसेन्ससँगै राहदानी, चेकबुक, स्मार्ट कार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरजस्ता महत्वपूर्ण कागजात पनि यही केन्द्रबाट छपाइ गर्ने तयारी भइरहेको छ ।
हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छपाइ गरिरहेको ढुंगानाले जानकारी दिए । विदेश जाने नागरिकलाई प्राथमिकतामा राखेर लाइसेन्स छपाइलाई तीव्र बनाइएको उनले बताए । उनका अनुसार वैशाख १२ गतेभित्र करिब १२ लाख लाइसेन्स छाप्ने लक्ष्य राखिएको छ । बाँकी करिब १७ लाख लाइसेन्स असार मसान्तभित्र सम्पन्न गर्ने योजना छ ।
सरकारले पछिल्लो समय सार्वजनिक सेवा प्रवाहलाई डिजिटल र स्वचालित प्रणालीमा रूपान्तरण गर्ने प्रयास तीव्र बनाइरहेको छ । नयाँ व्यवस्थासँगै सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ । सुरक्षण मुद्रण केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकिएमा सरकारी दस्तावेज छपाइमा बाहिरी निर्भरता घट्ने र समयमै सेवा उपलब्ध गराउन सहज हुने विश्वास सरकारको छ ।