.

एसियन गेम्स छनोटको उपाधिका लागि आज नेपाल र हङकङ भिड्दै

एसियन गेम्स पुरुष क्रिकेट छनोटको उपाधि भिडन्तमा आज सोमबार दुई बलिया टोली नेपाल र हङकङ आमनेसामने हुँदैछन्। सिंगापुरको नेसनल क्रिकेट ग्राउन्डमा नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुने यस फाइनल खेलमा दुवै टोली आफ्नो अपराजित यात्रालाई कायमै राख्दै च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।


प्रतियोगितामा अहिलेसम्मकै उत्कृष्ट लयमा देखिएको नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले स्तब्ध पार्दै फाइनलको यात्रा तय गरेको हो। ओमानलाई मात्र ९४ रनमा समेट्न सफल नेपाली बलरहरूको धारिलो प्रदर्शन र ९.२ ओभरमै लक्ष्य भेटाउने आक्रामक ब्याटिङ नै आजको खेलको मुख्य आकर्षण हुनेछ। अर्काेतर्फ, मलेसियालाई ६ विकेटले पन्छाउँदै फाइनल पुगेको हङकङ पनि नेपालका लागि बलियो चुनौती बन्ने देखिन्छ।


रणनीतिक हिसाबले आजको खेलमा नेपालले सुरुवाती ओभरदेखि नै स्पिनर र पेसरको संयुक्त आक्रमणमार्फत हङकङका ब्याटरलाई दबाबमा राख्ने योजना बुनेको छ। जवाफमा हङकङले भने अनुशासित बलिङ र चुस्त फिल्डिङमार्फत नेपालको रन गति रोक्ने प्रयास गर्नेछ। विशेषगरी पावरप्लेमा नेपालका प्रारम्भिक ब्याटरहरूको प्रदर्शन र हङकङको रक्षात्मक रणनीतिबिचको भिडन्तले खेलको निर्णय लिने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया