अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारीले गम्भीर रूप लिँदै गएको छ। कङ्गो इबोला स्क्रमितको संख्या ५१५ पुगेको छ भने ९१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अधिकारीहरूले आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार रोगको फैलावट अझै नियन्त्रणमा आएको छैन र नियन्त्रणका उपाय तुरुन्त प्रभावकारी रूपमा लागू नगरे अवस्था झन् बिग्रिन सक्ने चेतावनी दिइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार थप तीन जना बिरामी निको भएपछि निको हुनेको संख्या १२ पुगेको छ। हाल ११७ जना शंकास्पद संक्रमित रहेका छन् भने २८३ जना बिरामी आइसोलेसन वा उपचारमा छन्। ।
धेरैजसो पुष्टि भएका बिरामीहरूमा लक्षण जेठ १ देखि जेठ १० बीच देखिएको पाइएको छ, जसले सम्भावित एउटै स्रोतबाट संक्रमण तीव्र रूपमा फैलिएको सङ्केत गरेको छ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको पछिल्लो विश्लेषणअनुसार संक्रमित व्यक्तिहरूलाई समयमै पहिचान गरी अलग राख्ने कार्य प्रभावकारी हुन नसकेमा आगामी तीन महिनाभित्र सङ्क्रमितको संख्या २० हजारभन्दा बढी पुग्न सक्ने जोखिम रहेको छ। केन्द्रका अनुसार हालको कमजोर नियन्त्रण अवस्थालाई निरन्तरता दिइएमा संक्रमित संख्या २० हजार नाघ्ने सम्भावना ६५ प्रतिशतसम्म रहेको छ।
विशेषज्ञहरूले इबोला सङ्क्रमितलाई छिटो पहिचान गरी उपचार केन्द्रमा अलग राख्नु महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्।
तर प्रभावित क्षेत्रहरूमा स्वास्थ्य सेवाको पहुँच सीमित हुनु, जनशक्तिको अभाव तथा असुरक्षाका कारण संक्रमितहरूको वास्तविक संख्या यकिन गर्न कठिन भइरहेको छ।
इबोला नियन्त्रण अभियानमा संलग्न वरिष्ठ अधिकारी सतीश पिल्लईले संक्रमणको वास्तविक अवस्था अझै पूर्ण रूपमा स्पष्ट नभएको बताए।उनका अनुसार उपचार र अलग राख्नुपर्ने संक्रमितहरूको सङ्ख्या अनुमानभन्दा बढी हुन सक्ने संकेतहरू देखिएका छन्। स्थलको अवस्थाले हाल संक्रमितहरूलाई अलग राख्ने कार्य पर्याप्त प्रभावकारी नभएको देखाएको उनले उल्लेख गरे।
स्वास्थ्य अधिकारीहरूले महामारी अझै नियन्त्रणबाहिर जाने जोखिम रहेको चेतावनी दिँदै संक्रमितको खोजी, सम्पर्कमा आएका व्यक्तिहरूको निगरानी, उपचार सेवाको विस्तार र जनचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन्। ।