फिफाले २०२६ को विश्वकपको अन्तिम र तेस्रो स्थानको खेलका लागि खेल अधिकारीहरूको घोषणा गरेको छ। अमेरिकाको न्यूयोर्क–न्यू जर्सी रङ्गशालामा पर्सि आइतवार राति पौने १ हुने विश्वकपको फाइनलमा उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई र अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई हराउँदै उपाधि नजिकै पुगेका हुन् ।
जुलाई १९ (स्थानीय समय) मा अर्जेन्टिना र स्पेन बीचको उपाधि खेल स्लोभेनियाका स्लाभ्को भिन्चिकले सञ्चालन गर्नेछन्।
भिन्चिकसँगै उनका स्वदेशी टोमाज क्लानचिक र आन्द्रेज कोभाचिक क्रमशः पहिलो र दोस्रो सहायक रेफ्रीको रूपमा सामेल हुनेछन्। अधम मखादमेहलाई चौथो अधिकारीको रूपमा र मोहम्मद अल्कालाफलाई रिजर्भ सहायक रेफ्रीको रूपमा नियुक्त गरिएको छ।
यसैबीच, भेनेजुएलाका जेसस भ्यालेन्जुएलाले इङ्गल्याण्ड र फ्रान्स बीचको तेस्रो स्थानको खेलको जिम्मेवारी सम्हाल्नेछन्। जर्ज उरेगो र टुलियो मोरेनोले सहायक रेफ्रीको रूपमा काम गर्नेछन्। जलाल जायद चौथो अधिकारी हुनेछन्, र जकारिया ब्रिन्सी रिजर्भ सहायक रेफ्री हुनेछन्।