दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता ‘साफ च्याम्पियनसिप’ को आगामी संस्करणको खेल तालिका सार्वजनिक भएको छ । आगामी नोभेम्बरमा बंगलादेशमा आयोजना हुने यस प्रतियोगितामा दक्षिण एसियाका ६ वटा राष्ट्रले मात्र सहभागिता जनाउने भएका छन् ।
सार्वजनिक तालिका अनुसार सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक राष्ट्र बंगलादेशसँगै श्रीलंका र भुटान रहेका छन् । समूह ‘बी’ मा साबिक विजेता भारत, पाकिस्तान र माल्दिभ्स परेका छन् ।
प्रतियोगिता नोभेम्बर ४ तारिखदेखि सुरु भई नोभेम्बर १७ सम्म सञ्चालन हुनेछ । यस पटकको साफ च्याम्पियनसिपमा नेपाली फुटबल समर्थकका लागि भने खल्लो खबर छ । दक्षिण एसियाली फुटबलको सक्रिय सदस्य भए तापनि फिफाको कारबाहीका कारण नेपालले यस पटक प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको हो । साफका ७ सदस्य राष्ट्रमध्ये नेपाल बाहेकका अन्य ६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।