.

एक वर्षमा पर्नेभन्दा धेरै पानी दुई दिनमै परेपछि सहारा मरुभूमि डुबानमा

अफ्रिकाको उत्तरी क्षेत्रमा रहेको देश मोरक्कोको सहारा मरुभूमि क्षेत्र डुबानमा परेको छ । औसतमा एक वर्षमा पर्नेभन्दा धेरै पानी दुई दिनमै परेपछि दक्षिणपूर्वी मोरक्कोको सहारा मरुभूमि क्षेत्र ५० वर्षमा पहिलो पटक डुबानमा परेको हो । दुई दिनसम्म अतिठूलो वर्षा हुँदा मरुभूमिमा दुर्लभ मानिने डुबान भएको बीबीसीले जनाएको छ । 


मोरक्कोको मौसमसम्बन्धी निकायका अनुसार यति छोटो समयमै यति धेरै पानी परेको ३० देखि ५० वर्ष भइसकेको थियो । अतिठूलो वर्षाका कारण यस क्षेत्रमा मौसमी प्रक्रिया बदलिन सक्ने आँकलन गरिएको छ । 


दक्षिणपूर्वी मोरक्कोलाई संसारको सबैभन्दा सुक्खा ठाउँमध्ये एक हो ।  त्यहाँ ग्रीष्मयामको उत्तरार्धमा पानी पर्नुलाई दुर्लभ मानिन्छ । 

मोरक्कोको राजधानी रबाटबाट झन्डै ४ सय ५० किलोमिटर दक्षिणमा रहेको ट्यागूनाइटमा २४ घण्टामा एक सय मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको खबरमा उल्लेख छ । जगोरा र टाटा शहरका बीचमा ५० वर्षसम्म सुक्खा रहेको क्षेत्रमा पानी भरिएको छ । मौसम विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘डब्ल्यूएमओ’ का अनुसार संसारभरिकै वर्षाचक्र छिटो छिटो बदलिने क्रममा रहेको छ ।  


विश्वव्यापी तापमान वृद्धिका कारण चरम मौसमी घटना बढ्न थालेकाले सहारा मरुभूमि क्षेत्रमा भविष्यमा पनि यस्ता घटना हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया