.

होर्मुजमा फेरि हमला, अमेरिका–इरान तनाव चर्कियो

अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा आफ्ना जहाजमाथि इरानले आक्रमण गरेपछि जवाफी कारबाहीस्वरूप इरानी सैन्य ठेगानामा पुनः बमबारी गरेको जनाएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार ओमानको खाडीतर्फ गइरहेका अमेरिकी जहाजमाथि इरानी सैन्य बलले मिसाइल, ड्रोन र साना डुंगामार्फत हमला गरेपछि आत्मरक्षाका लागि कारबाही गरिएको हो । अमेरिकाले आफ्नो सैन्य टोलीमाथि खतरा बढेपछि सीमित सैन्य आक्रमण गरिएको दाबी गरेको छ ।

तर, इरानले भने अमेरिका स्वयंले युद्धविराम तोडेको आरोप लगाएको छ । इरानको सरकारी सञ्चारमाध्यमले होर्मुज जलडमरूमध्यतर्फ गइरहेको एक इरानी तेल ट्यांकरमाथि अमेरिकी आक्रमण भएपछि आफूहरूले जवाफी मिसाइल प्रहार गरेको जनाएको छ । इरानी पक्षले अमेरिकी जहाजहरूलाई ठूलो क्षति पुगेको दाबी पनि गरेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता जारी रहेको बताएका छन् । उनले युद्धविराम अझै कायम रहेको दाबी गर्दै इरानलाई परमाणु हतियार बनाउन नदिइने दोर्होयाएका छन् ।


ट्रम्पले सम्झौतामा हस्ताक्षर नभए इरानले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी पनि दिएका छन् । अमेरिका र इरानबीच केही समययता पाकिस्तानमार्फत संवाद अघि बढिरहेको भए पनि पछिल्ला आक्रमणले सम्भावित शान्ति सम्झौता संकटमा परेको विश्लेषण गरिएको छ ।


स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिन्छ । त्यहाँ तनाव बढेपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यसमेत प्रभावित भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया