.

लामो संघर्षपछि आमाकै नामबाट छोरीलाई नागरिकता

 विराटनगर महानगरपालिका–५ की इन्दिरा बरालले दशौं वर्षको संघर्षपछि आफ्नै नामबाट दुई छोरीलाई नेपाली नागरिकता दिलाएकी छन् ।


जिल्ला प्रशासन कार्यालय मोरङले २६ वर्षीया आशा बराल र २० वर्षीया जिज्ञासा बराललाई बिहीबार नेपाली नागरिकता प्रदान गरेको हो ।


प्रमुख जिल्ला अधिकारी युवराज कटेलले दुवै छोरीलाई नागरिकता हस्तान्तरण गरेका थिए । इन्दिराका श्रीमान् दीपक निरौला २०६२ सालमै बितेका थिए । त्यसपछि पाँच सन्तानको जिम्मेवारी एक्लै बोकेकी इन्दिराले मजदुरी गरेर परिवार चलाइन् । जन्मसिद्धका आधारमा नागरिकता पाएपनि छोरीहरूलाई नागरिकता दिलाउन भने उनले १० वर्षभन्दा बढी संघर्ष गर्नुपर्‍यो ।


नागरिकता नहुँदा शारीरिक रूपमा अपांगता भएकी छोरी आशाले राज्यबाट पाउनुपर्ने अपांगता भत्तासमेत लिन सकेकी थिइनन् । नागरिकताकै लागि इन्दिराका छोरा अर्जुन र छोरी आशा सर्वोच्च अदालतसम्म पुगेका थिए । सर्वोच्च अदालतले २०८० सालमा आवश्यक प्रमाणका आधारमा नागरिकता दिन परमादेश जारी गरेपछि अर्जुनले नागरिकता पाएपनि आशाले पाएकी थिइनन् ।


फैसला कार्यान्वयन गराइदिने भन्दै एक कानुन व्यवसायीले परिवारबाट करिब तीन लाख रुपैयाँ असुले पनि नागरिकता भए हात परेन । आर्थिक रूपमा कमजोर परिवारले कान्छी छोरीको दुःख गरेर कमाएको रकमसमेत गुमाउनुपरेको थियो ।


अधिवक्ता संयुक्ता भण्डारीले निःशुल्क कानुनी सहयोग गरेपछि इन्दिराको परिवार पुनः प्रशासन कार्यालयसम्म पुगेको हो । फाइल अध्ययनपछि प्रमुख जिल्ला अधिकारी कट्टेलले तत्काल नागरिकता जारी गर्ने निर्णय गरे ।


नागरिकता पाएपछि भावुक बनेकी इन्दिराले भनिन्, ‘१० वर्षपछि छोरीको नागरिकता बनाउन पाएँ । अब मेरी छोरीले पनि राज्यको सुविधा पाउने भइन् ।’ प्रजिअ कट्टेलले नागरिकता दिनका लागि अतिरिक्त अदालतको आदेश आवश्यक नपर्ने स्पष्ट पार्दै बिचौलियाको भर नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।


नागरिकता पाएसँगै अब आशाले अपांगता भत्ता, स्वास्थ्य सेवा तथा अन्य सरकारी सुविधा पाउने बाटो खुलेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया