.

यो वर्ष कम वर्षा र बढी गर्मी हुने मौसम विभागको प्रक्षेपण

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।


विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको मौसम अवस्थाबारे जानकारी दिँदै मनसुन कमजोर रहने संकेत गरेको हो ।


मौसमविद् सुदर्शन हुमागाईंले देशका धेरै स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जानकारी दिए । विभागका अनुसार कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ ।


कर्णाली प्रदेशका उत्तरी भूभाग र कोशी प्रदेशका उत्तरी क्षेत्रमा भने सरदर वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पश्चिमी क्षेत्र तथा कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको प्रक्षेपणमा उल्लेख छ ।


विभागका अनुसार मनसुन अवधिभर देशभर अधिकतम तथा न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी रहने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म छ । यसले गर्मीको प्रभाव अझ बढ्नसक्ने अनुमान गरिएको छ ।


मौसमविद्हरूले कम वर्षा र बढी तापक्रमको प्रभाव कृषि, खानेपानी तथा दैनिक जनजीवनमा पर्न सक्ने भएकाले आवश्यक तयारी गर्न सरोकारवाला निकायलाई सुझाव दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया