इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्न अस्वीकार गरेको छ ।
अमेरिका–इरानबीच युद्ध रोक्ने सम्झौता पश्चात् पनि इजरायलले सेना फिर्ता गर्न अस्वीकार गरेको छ । उत्तरी इजरायलमा रहेको ‘रुट ६०’ को पुनः उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलले उत्तर क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था पुनः स्थापित गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसका लागि दक्षिणी लेबनानमा एक सुरक्षा क्षेत्र कायम राख्न आवश्यक छ र त्यहाँबाट पछि नहट्ने अडान लिनुभएको छ । इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले पनि दक्षिणी लेबनानमा आफ्नो सैन्य उपस्थितिको नयाँ नक्सा सार्वजनिक गर्दै तत्कालका लागि आफ्ना सैनिकहरू फिर्ता बोलाउने कुनै योजना नरहेको स्पष्ट पारेको छ । सेनाले सम्भावित सुरक्षा खतराहरूलाई निष्क्रिय पार्ने अभियान जारी राख्ने बताएको छ ।
इजरायलले लेबनानको सरकारी सेनालाई पनि चेतावनी दिँदै सुरक्षा क्षेत्र आसपास गरिने कुनै पनि गतिविधि आफ्नो सेनासँग समन्वय गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वबीच भएको शान्ति सम्झौतामा लेबनानसहित विभिन्न मोर्चाहरूमा लडाइँ अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
सम्झौताअनुसार दुवै पक्ष तथा उनीहरूका समर्थित समूहहरूले एक अर्काविरुद्ध प्रत्यक्ष सैन्य कारबाही रोक्ने उल्लेख गरिए पनि इजरायलले दक्षिणी लेबनानमा आफ्नो सैन्य उपस्थिति कायम राख्ने निर्णय गरेपछि शान्ति प्रक्रियाको प्रभावकारिता र दीर्घकालीन सफलतामाथि नयाँ प्रश्न उठेको छ ।