भारतको जोगवनी पुगेर आएका तीन जना विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट लागुऔषध ब्राउन सुगर ९खेरो हेरोइन० बरामद भएको छ ।
लागुऔषध दुर्व्यसनविरुद्धको महाअभियान तथा लागुऔषध नियन्त्रणसम्बन्धी एक हप्ते अभियानअन्तर्गत गरिएको विशेष चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् । प्रहरीले विराटनगर महानगरपालिका–१५ का ३२ वर्षीय दीपक सहनी, २७ वर्षीय मोहम्मद कफिल तथा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का २५ वर्षीय दिपेश पोखरेललाई पक्राउ गरिएको जनाएको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार तीनै जनालाई लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले बिहीबार साँझ पक्राउ गरेको हो । भारतबाट पैदल नै नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागेपछि प्रहरीले नियन्त्रण लिएर शरीर खानतलासी गरेको थियो ।
चेकजाँचका क्रममा साथबाट ८ ग्राम ३१० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।
मोरङ प्रहरीले पछिल्लो समय लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै सीमावर्ती क्षेत्र तथा आवागमनका मुख्य नाकाहरूमा निगरानी र चेकजाँचलाई कडाइ गरिरहेको छ । प्रहरीले लागुऔषधविरुद्ध महाअभियान नै सञ्चालन गरेको छ ।