.

आर्थिक वर्ष सुरु भइसक्दा पनि १३ स्थानीय तहले ल्याएनन् बजेट

नयाँ आर्थिक वर्ष सुरु भएको केही समय बितिसक्दा पनि देशभरका १३ स्थानीय तहले अझै चालु आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गर्न सकेका छैनन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशका ७५३ स्थानीय तहमध्ये ७४० स्थानीय तहले बजेट सार्वजनिक गरी कार्यान्वयन सुरु गरिसकेका छन् । बाँकी १३ स्थानीय तहमा भने राजनीतिक विवाद, प्राविधिक समस्या तथा अन्य आन्तरिक कारणले बजेट प्रस्तुत हुन सकेको छैन ।

बजेट ल्याउन नसकेका स्थानीय तहमध्ये सबैभन्दा धेरै मधेश प्रदेशका १० वटा रहेका छन् । तीमध्ये सिराहाको सुखीपुर नगरपालिका र औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटका गरुडा, कटहरिया, फतुवा विजयपुर र मौलापुर नगरपालिका तथा यमुनामाई गाउँपालिका, पर्साका छिपहरमाई र पकाहा मैनपुर गाउँपालिका छन् ।

यस्तै, कोशी प्रदेशको धरान उपमहानगरपालिका, लुम्बिनी प्रदेशको रुपन्देहीस्थित कोटहीमाई गाउँपालिका र कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले पनि हालसम्म बजेट ल्याउन सकेका छैनन् । कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये १३६ वटाले बजेट ल्याइसकेका छन् ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले असारभित्रै बजेट सार्वजनिक गरी कार्यान्वयन अघि बढाइसकेका मन्त्रालयले जनाएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया