.

सामाजिक सुरक्षा भत्ता हिनामिना : ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रौतहटको दुर्गा भगवती गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा हिनामिना गरिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार गाउँपालिकाको वडा नम्बर ३, मत्सरीमा आर्थिक वर्ष २०७४–७५ देखि २०८१–८२ सम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्दा कानुनविपरीत लाभग्राही कायम गरी सरकारी रकम दुरुपयोग गरिएको पाइएको हो । अनुसन्धानबाट ३२ लाख २४ हजार १ रुपैयाँ बराबरको सामाजिक सुरक्षा भत्ता अनियमित रूपमा वितरण भएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको छ ।

मुद्दाका मुख्य प्रतिवादीमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुर, वडा नम्बर ३ का वडा अध्यक्ष धर्मेन्द्रकुमार झा र वडा सचिव उमेश चौधरी रहेका छन् । उनीहरूसँगै झुटा विवरणका आधारमा सामाजिक सुरक्षा भत्ता लिएको आरोप लागेका ३९ जना सेवाग्राहीलाई पनि प्रतिवादी बनाइएको छ ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र वडा सचिवसँग ३२ लाख २४ हजार १ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुलउपरको माग गरेको छ । त्यसैगरी गैरकानुनी रूपमा सामाजिक सुरक्षा भत्ता लिएका ३९ जना सेवाग्राहीबाट समेत प्राप्त रकम असुल गरी प्रचलित कानुनअनुसार कारबाही गर्न माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया