कोशी प्रदेशमा आर्थिक वर्ष २०८२÷८३ मा सवारी दुर्घटनामा उल्लेख्य वृद्धि भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटनाको संख्या १४ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्ष प्रदेशका १४ जिल्लामा ६ हजार ४१२ वटा सवारी दुर्घटना भएका छन्। यो अघिल्लो वर्षको ५ हजार ६२६ दुर्घटनाभन्दा ७८६ बढी हो।
दुर्घटनासँगै मानवीय क्षति पनि बढेको छ। दुर्घटनामा ४४० जनाको मृत्यु भएको छ, जुन अघिल्लो वर्षको ४१८ जनाको तुलनामा २२ जना अर्थात् ५ प्रतिशत बढी हो। घाइते हुनेको संख्या पनि ९ हजार २४१ बाट बढेर १० हजार ६८७ पुगेको छ। अर्थात् १ हजार ४४६ जना वा १६ प्रतिशतले वृद्धि भएको छ।
तथ्यांकअनुसार दुर्घटनाको वृद्धिदर सबैभन्दा धेरै उदयपुरमा ५७ प्रतिशत रहेको छ। त्यहाँ दुर्घटनाको संख्या ३०० बाट बढेर ४७० पुगेको छ। त्यसपछि इलाममा ४८ प्रतिशत, खोटाङमा ३८ प्रतिशत, पाँचथरमा ३२ प्रतिशत र ताप्लेजुङमा २९ प्रतिशतले दुर्घटना बढेको छ।
घाइते हुनेको संख्या पनि अधिकांश जिल्लामा बढेको छ। ताप्लेजुङमा १०३ प्रतिशत, उदयपुरमा ४३ प्रतिशत, झापामा २४ प्रतिशत र सुनसरीमा १२ प्रतिशतले घाइते बढेका छन्। सबैभन्दा धेरै झापामा २ हजार ५६९, सुनसरीमा २ हजार ४३५ र मोरङमा २ हजार ४५५ जना घाइते भएका छन्।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक गिरीले राजमार्ग केन्द्रित जिल्लामा दुर्घटना निरन्तर बढिरहेकाले सवारी गति नियन्त्रण, चालक अनुशासन, सडक पूर्वाधार सुधार तथा प्रभावकारी ट्राफिक व्यवस्थापनमा थप कडाइ आवश्यक रहेको बताए।