.

इलाममा ग्यास अभाव, विद्यार्थीलाई घर फर्किनुपर्ने बाध्यता

मेची राजमार्गअन्तर्गत माइखोला–राजदुवाली सडकखण्ड लामो समयदेखि अवरुद्ध हुँदा इलाम सदरमुकामसहित उत्तरी क्षेत्रमा खाना पकाउने एलपी ग्यासको हाहाकार मच्चिएको छ ।

सडकले आपूर्तीमा समस्या भएको बेला करिब एक सातादेखि भने ग्यासको आपूर्ती ठप्प हुँदा सदरमुकाममा कोठा भाडामा लिएर बस्ने विद्यार्थी तथा सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ।

व्यवसायीका अनुसार सडक अवरुद्ध भएपछि करिब एक महिनादेखि ग्यासको आपूर्ति प्रभावित हुँदै आएको थियो। वैकल्पिक सडकबाट साना सवारीसाधनमार्फत सीमित मात्रामा ग्यास ल्याउने प्रयास भएपनि पछिल्लो एक सातादेखि भने आपूर्ति झनै संकटपूर्ण बनेको छ ।

सदरमुकाममा अध्ययनरत विद्यार्थी सुमन तामाङले १५ दिनअघि बुझाएको खाली सिलिन्डरसमेत फिर्ता नपाएको बताए। ग्यास अभावका कारण होटलमा नियमित खाना खान सक्ने अवस्था नभएको भन्दै उनले घर फर्किनुपर्ने अवस्था आएको बताए।

ग्यास व्यवसायी खम्बासिंह पौडेलका अनुसार पहिले मासिक करिब ४ सय सिलिन्डर प्राप्त हुने गरेकामा अहिले कम्पनीबाट १३० सिलिन्डर मात्रै आउने गरेको छ। पर्याप्त ग्यास नआएपछि गोदाममा करिब ५ सय खाली सिलिन्डर थन्किएको उनले बताए।

ग्यास नपाएपछि केही विद्यार्थी कोठा छाडेर घर फर्किन थालेका छन् भने केहीले इन्डक्सन चुलो प्रयोग गरेर गुजारा चलाइरहेका छन्। तर इन्डक्सन चुलो सबैको पहुँचमा नहुँदा अधिकांश परिवार समस्यामा परेका छन्।

मुख्य राजमार्ग अवरुद्ध हुँदा गाउँबाट तरकारी तथा अन्य उपभोग्य वस्तुको ढुवानी घटेको छ। वर्षाका कारण वैकल्पिक सडकसमेत पटक–पटक अवरुद्ध हुँदा ढुवानी थप प्रभावित भएको छ।

बिहीबार र आइतबार लाग्ने इलाम बजारको हटियामा समेत मागअनुसार तरकारी आउन नसक्दा बजारमा मूल्य बढेको व्यवसायीले बताएका छन्।


उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलले ग्यास अभाव समाधानका लागि डिलर तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको र सडक अवरुद्ध हुँदा आपूर्ति प्रणाली प्रभावित भएको भन्दै उनले सडक सञ्चालनमा आएपछि ग्यास आपूर्ति क्रमशः सहज हुने अपेक्षा व्यक्त गरे।


स्थानीयवासीले सडक अवरोधका कारण उत्पन्न आपूर्ति संकटलाई तत्काल सम्बोधन गर्दै एलपी ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र मूल्यवृद्धि रोक्न प्रभावकारी पहलको माग गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया