नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको विराटनगरस्थित ऐतिहासिक कोइराला निवास मर्मतका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई पत्र लेख्दै उनले राज्यको सीमित स्रोत र साधन अभाव तथा कष्टमा रहेका नागरिकको उत्थानमा खर्च हुनुपर्ने भन्दै उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसकिने बताए।
सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मघर मर्मतका लागि २ करोड रुपैयाँ बजेट छुट्याएको थियो। सो कार्यका लागि सरकारप्रति आभार प्रकट गर्दै डा. कोइरालाले विद्यमान परिस्थितिमा रकम फिर्ता गर्ने निर्णय लिएका हुन्।
बिपी कोइरालाले जीवनभर नेपालीको गाँस, वास र कपासका लागि संघर्ष गरेको स्मरण गराउँदै उनले राज्यले विपन्न नागरिकको पक्षमा काम गर्नु नै बिपी र कोइराला निवासप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।
विराटनगर महानगरपालिका–७ मा रहेको यो ऐतिहासिक घर डा. शेखरका पिता कृष्णप्रसाद कोइरालाले एक शताब्दीअघि निर्माण गरेका थिए। नेपाली राजनीतिको ऐतिहासिक साक्षी मानिने यो घर गत वर्ष भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा जलाइएको थियो।
भौतिक संरचना नष्ट भए पनि यसको वैचारिक विरासत कायमै रहने विश्वास उनले व्यक्त गरे।