.

दर्जनभन्दा बढी मुख्य सडक अवरुद्ध

निरन्तरको वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध बनेका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र सम्भावित बाढीका कारण एक दर्जनभन्दा बढी मुख्य सडक प्रभावित भएको जनाएको छ। मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा सडक हिलाम्मे हुँदा यातायात पूर्ण रूपमा ठप्प भएको छ। सो क्षेत्रमा वैकल्पिक मार्गमार्फत गाडी चलाइएको छ। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएकाले आवागमन पूर्ण रूपमा रोकिएको छ।

सम्भावित बाढीको जोखिमलाई ध्यान दिँदै बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात खुला रहनेछ। यस्तै कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन चलाउन रोक लगाइएको छ।

यस्तै, लामासाँघु–रामेछाप सडकखण्डको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडककाटेपछि यातायात अवरुद्ध बनेको छ। त्यहाँ खिम्ती ग्रामीण विद्युत् सहकारीको कार्यालय परिसरबाट वैकल्पिक मार्ग सञ्चालन गरिएको छ।

यसैगरी रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी, बागलुङस्थित कालीगण्डकी करिडोरको बेलबगर खण्ड, रुकुम पश्चिमको भेरी करिडोर र मुस्ताङको बेनी–जोमसोम सडकखण्ड पनि पहिरोले ठप्प भएका छन्। म्याग्दीको बैसेरी र भिरकाटेमा सडक बगाएपछि बेनी–जोमसोम सडकका दुई ठाउँमा गाडी चल्न सकेका छैनन्।

गुल्मीको रुरुक्षेत्रस्थित मदन भण्डारी सडकखण्डमा सुक्खा पहिरो खसेर बाटो बन्द भएको छ। प्रहरीले वर्षायाममा बाढी र पहिरोको जोखिम उच्च रहने भएकाले पूर्वजानकारी लिएर मात्र यात्रामा निस्कन सबैलाई आग्रह गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया