खाद्य ऐन– २०२३ संशोधन : अखाद्य वस्तु बेचे पाँच वर्ष कैद
२५ वैशाख २०८१, मङ्गलवार
0
प्रतिक्रिया
विराटनगर ,२५ बैशाख । मानव स्वास्थ्यमा खेलबाड गर्दै अखाद्य वस्तु उत्पादन गरेर बिक्री वितरण गरे पाँच वर्षसम्म कैद सजाय हुने गरी सरकारले कानुन संशोधन गरेको छ।सरकारले खाद्य ऐन– २०२३ संशोधन गर्दै न्यून गुणस्तरका खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, ढुवानी वा बिक्री वितरण गरेमा वा राखेमा अधिकतम पाँच लाख जरिवानासहित पाँच लाख रूपैयाँसम्म सजाय गर्ने व्यवस्था गरेको हो।
कम सजाय हुँदा उत्पादकहरूले मानव स्वास्थ्यमा असर पर्ने खालका खाद्यवस्तुको उत्पादन तथा बिक्री गरेपछि सरकारले कडाइ गरेको हो। ‘खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८१’ ले उपभोक्ताको हितलाई ध्यान दिएर ल्याइएको छ। सरकारले ल्याएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरिसकेका छन्। । अनुमतिपत्र नलिई खाद्य व्यवसाय सञ्चालन गरेमा, पैठारी गर्नुअघि स्वीकृत वा प्रवेश अनुमति नलिई खाद्य पदार्थ पैठारी गरेमा, दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री वितरण गरेमा पनि कारबाही गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
पुरानो ऐनलाई संशोधन गरेर मानव स्वास्थ्यमा खेलवाड गर्नेमाथि कडाइ गरिएको विभागका महानिर्देशक मतिना जोशी वैद्यले बताइन्। । खाद्य पदार्थमा लेबलिङ नगरी बिक्री गरेमा ६ महिना कैद वा ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ। उत्पादक तथा प्रशोधनकर्ता, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेता वा सेवा प्रदायकले पूरा गर्नुपर्ने कुनै दायित्व पूरा नगरेमा वा दायित्वको उल्लंघन हुने काम गरेमा कारबाही गर्ने व्यवस्था छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणमा बजारमा बिक्री–वितरण हुने उपभोग्य वस्तु गुणस्तरहीन भेटिने गरेको छ। खाद्यवस्तु सडेगलेको, फोहोरमैला मिसिएको वा विषाक्त अवस्थामा राखिएको, मानव उपभोगको लागि अनुपयुक्त हुने गरी केही वा सम्पूर्ण भाग कुनै रोगका कारण संक्रमित पशुपन्छी वा हानिकारक बनस्पतिबाट बनेको वस्तु बिक्री गर्न नपाइने उल्लेख छ।
मानव स्वास्थ्यमा असर गर्ने रोग कारक सूक्ष्म जिवाणु वा हानिकारक तत्व वा रासायनिक मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भएको खाद्य वस्तुलाई पनि बन्देज गरिएको छ।
खाद्य शृंखलाको कुनै चरणमा अन्तर्विकसित, जीवनाशक विषादी भएको अवशेष, पशुजन्य औषधिको अवशेष, जीवाणुजन्य विषयको अधिकतम सीमा भएको, कृत्रिम विषजन्य पदार्थ, हार्माेन रसायन प्रयोग गरेको, तत्कालीन वा दीर्घकालीन असर र्पुयाउन सक्ने तोकिएको सीमाभन्दा बढी विकीरणयुक्त पदार्थ बिक्री वितरण गर्न पनि नपाइने व्यवस्था गरिएको छ।