मोरङको विराटनगरमा जारी कक्षा १२ को परीक्षामा व्यापक रूपमा अमर्यादित गतिविधि भइरहेको पाइएको छ। मंगलबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको नेतृत्वमा गरिएको विशेष अनुगमनका क्रममा विभिन्न परीक्षा केन्द्रहरूबाट एक बोराभन्दा बढी चिठ र निषेधित सामग्री बरामद गरिएको कोइरालाले बताए ।
अनुगमन टोलीले विराटनगरका ६ वटा विद्यालयमा आकस्मिक निरीक्षण गरेको थियो। जसमध्ये आदर्श माध्यमिक विद्यालयमा सबैभन्दा बढी चिठ फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए। टोलीले आदर्श माविका साथै सत्यनारायण माध्यमिक विद्यालय, विकेभिएम र जनपथ माध्यमिक विद्यालयलगायतका केन्द्रहरूमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा परीक्षार्थीहरूले अत्यन्तै सावधानीपूर्वक प्रतिबन्धित सामग्री लुकाएर परीक्षा हलभित्र लैजाने गरेको भेटिएको छ। सत्यनारायण माध्यमिक विद्यालयका सहायक केन्द्राध्यक्ष नेत्र प्रसाद फुयालका अनुसार विद्यार्थीहरूले जुत्ता, मोजा र भित्री वस्त्र (अन्डरवेयर) समेतमा चिठ लुकाएर ल्याउने गरेका छन्।
सत्यनारायण मावि केन्द्रमा कान्तिपुर कलेज, नगरग्राम र मोडेर्ना स्कुलका विद्यार्थीहरूले परीक्षा दिइरहेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले विद्यार्थीहरूले गेस पेपर र गाइडका पानाहरू च्यातेर चिठका रूपमा प्रयोग गरेको बताए। परीक्षाको गरिमा र मर्यादा जोगाउन अनुगमनलाई गरीएको उनले स्पष्ट पारे। बरामद गरिएका एक बोराभन्दा बढी चिठहरूलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको छ।
मर्यादित रूपमा परीक्षा सञ्चालन गर्न र यस्ता अवाञ्छित गतिविधि रोक्न आगामी दिनमा थप कडाइ गरिने अनुगमन समितिले जनाएको छ। देशभर यतिबेला कक्षा १२ को अन्तिम परीक्षा सञ्चालन भइरहेको छ ।