काभ्रेको रोशी खोलामा पानीको बहाव बढेसँगै घुमाउनेमा फसेका ८९ जना यात्रुको उद्धार गरिएको छ । साथै फसेका ५ वटा गाडीलाई सुरक्षित ठाउँमा सारिएको छ ।
हिजो पानी परेपछि रोशी गाउँपालिका–७ घुमाउनेमा ८९ जना यात्रु तथा ५ वटा गाडी फसेकोमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएको नेपाल प्रहरीले जनाएको छ । हिजोदेखि अवरुद्ध बीपी राजमार्ग अझै खुलेको छैन ।
हिजो बेलुका ५ बजेदेखि आवागमन बन्द गराएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यो राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका कटुञ्जेको चौकी डाँडादेखि सिन्धुलीको नेपालथोकसम्म सडक खण्डमा आवागमन बन्द गरिएको हो ।
वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने उद्देश्यले गाडी सञ्चालनमा रोक लगाएको प्रहरीको भनाइ छ । प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ । अर्को सूचना नआएसम्म यो खण्डमा यात्रा नगर्न अपिल गरिएको छ ।
वर्षाका कारण पटक पटक रोशी खोलाको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिकाको चौकी डाँडादेखि सिन्धुलीको नेपाल थोकसम्मको विभिन्न ठाउँमा अस्थायी डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुँदै आएको छ ।
राजमार्ग अवरुद्ध भएपछि गाडीलाई राजमार्गको प्रवेश मार्ग धुलिखेल तथा काभ्रेभञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा रोकेर राखेको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ ।
त्यस्तै
बीपी राजमार्गमा अटेर गरी गाडी चलाउने पाँच जना चालकलाई प्रहरीले समातेको छ । सुरक्षाका कारण रोक्दा रोक्दै र सूचनालाई बेवास्ता गरी गाडी चलाएको हुँदा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पानी परेपछि हिजो रोशी खोलाको बहाव बढ्न गई खोला बीचमा पाँचवटा गाडी फसेका यात्रुको जीउधनलाई खतरा पुर्याई गाडी चलाएको आरोपमा पक्राउ परेका चालकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।