.

प्रधानमन्त्री बालेनले आज राष्ट्रियसभामा विभिन्न अध्यादेश पेस गर्दै

संघीय संसद्को बजेट अधिवेशन आज सोमबारदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन अब केहि बेरमै बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारले हालै जारी गरेका विभिन्न महत्त्वपूर्ण अध्यादेशहरू पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्री शाहले आजको बैठकमा तीनवटा प्रमुख अध्यादेशहरू पेस गर्नेछन् । जसमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ रहेका छन् ।

यस्तै, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ ।

आजैदेखि सुरु हुन लागेको बजेट अधिवेशनका लागि संसद् सचिवालयले अन्य विभिन्न सम्भावित कार्यसूचीहरू पनि तय गरेको छ । सरकारले ल्याएका यी अध्यादेशहरूमाथि सदनमा छलफल हुने र प्रक्रिया अघि बढ्ने जनाइएको छ । प्रधानमन्त्री र अर्थमन्त्रीले पेस गर्ने यी अध्यादेशहरूलाई सुशासन र आर्थिक पारदर्शीताका दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ ।

यस्तै

मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ। सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिबाट अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई हुने सम्बोधन स्वीकृत गरेको प्रवक्ता पोखरेलले बताए।

बजेट अधिवेशनको पहिलो दिन (सोमबार) राष्ट्रपति रामचन्द्र पौडेलले  अपरान्ह ४ बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि छलफल हुने र निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको छ। नीति तथा कार्यक्रम पारित भएपछि प्रि–बजेट (बजेटपूर्वको छलफल) सुरु हुनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया