.

गत वर्ष बजेट अभावले रोकिएको गैँडा गणना यस वर्ष पनि नहुने

बजेट अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिंगे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ । हरेक चार वर्षमा हुँदै आएको गैँडाको गणना यस वर्ष बाघको गणना परेकाले गर्न नसकिएको हो ।

गैँडा गणना आनुवंशिक ‘जेनेटिक’ विधिबाट गरिन्छ । बर्खा लागेसँगै कार्यक्षेत्रमा खटिएर गणना गर्न नसकिने भएकाले अर्को वर्षमात्रै गरिनेछ । गणनाको काम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्छ ।

विभागको वन्यजन्तुको सर्वेक्षणसँग सम्बन्धित प्राविधिक समितिको बैठकले आनुवंशिक विधिबाट गैँडा गणना गर्न आवश्यक ‘प्रोटोकल’ बनाउने निर्णय गरेको छ । समितिका संयोजक एवं विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले प्रोटोकल तयार गर्न छलफल सुरु भइसकेको जानकारी दिए । आनुवंशिक विधिबाट गणना गर्दा जनशक्ति परिचालन गरी गैँडाको गोबर (मल) संकलन गरेर प्रयोगशालामा डीएनए परीक्षणबाट संख्या र लिंग पहिचान गर्ने गरिन्छ । 

मुख्य रूपमा चितवन राष्ट्रिय निकुञ्जमा यो विधिबाट गैँडाको गणना गरिनेछ । ठूलो क्षेत्र भएकाले कति प्रतिशत भूभागबाट गोबर संकलन गर्ने भन्ने विषय प्रोटोकलमा निर्धारण गरिनेछ । गैँडाको वासस्थान, खोलाको किनार, घाँसेमैदान, नदी तटीय वन क्षेत्र हुने गर्दछ । नेपालका चार निकुञ्जमा गैँडा पाइन्छन् । बर्दिया, शुक्ला र पर्सामा प्रत्यक्ष रूपमा हेरेर गणना गर्न सकिने भएकाले यो विधि चितवन राष्ट्रिय निकुञ्जमा मात्र प्रयोग गरिने छ ।

नेपालमा यो विधिबाट हिउँ चितुवाको मात्रै गणना गरिँदै आएको छ । विगतमा गणना गर्दै आएको विधिभन्दा कम खर्चिलो र सुरक्षित हुने जनाइएको छ । विगतमा ब्लक छुट्याएर प्रत्यक्ष गणना विधि प्रयोग गरिँदै आएको थियो । यो विधिबाट गणना गर्दा निकै खर्चिलो हुने र जोखिमपूर्ण हुने गरेको छ ।

आचार्यले अहिलेसम्म प्रयोग गरिएको प्रत्यक्ष र ‘फोटो आईडी’ विधिबाट भन्दा आनुवंशिक विधिबाट गणना गर्दा वैज्ञानिक आधारमा सबैले मान्ने विधि भएकाले यसतर्फ विभागको ध्यान गएको बताए ।

नेपालमा सन् १९५० को दशकमा ८०० गैँडा रहेको अनुमान छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८ र शुक्लाफाँटमा १८ पुगेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया