प्रतिनिधिसभाको बैठकमा आउँदो आर्थिक वर्ष २०८३र०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु भएको छ । आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा लिएर विरोध प्रदर्शन गरेका छन् ।यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरे पनि प्रधानमन्त्री उपस्थित हुनुभएन । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो ।
संसदमा आजदेखि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु भएको हो । यसैगरी दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची छ ।
इसैबिच प्रतिनिधिसभाको बैठकमा नयाँ नियमावली पेस भएको छ ।
सोमबार बसेको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।
नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले असर संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताए ।
संसद् गफ गर्ने अखडा नभएर काम गर्ने थलो हो भन्ने गरी प्रावधानहरू राखिनुपर्नेमा जोड दिए । सरकारलाई जवाफदेही बनाउने गरी नियमावली बन्न सक्दा यसले समग्र मुलुककै हित गर्ने उनको राय छ ।
नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले मिनी संसद्को रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनुपर्ने बताए ।
संसद्मा प्रश्न गर्ने र संशोधन राख्ने प्रर्याप्त समय दिने व्यवस्था छ कि छैन भनेर नियमावलीमा हेरेर दफावार छलफलमा संशोधन राख्ने उनले बताए ।