.

इलाम(२ मा उम्मेदवार बन्नेको लर्को, स्वतन्त्र पनि प्रशस्तै

विराटनगर , ११ चैत्र । आउँदो वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी चहलपहल बढेको छ। उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को लागेको छ। उम्मेदवार टुङ्गो लागेका स्वतन्त्रहरू जनताको घर पुग्न थालेका छन् भने उम्मेदवार टुङ्गिन बाँकी राजनीतिक दलका नेताहरूसमेत निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन्।

स्वतन्त्र उम्मेदवारहरू औपचारिक चुनावी अभियान सुरुआत गरी जनताको घर–घर पुग्न थालेका हुन्। दलका नेताहरू भने टिकट प्राप्त गर्नका लागि लबिङ गरिरहेका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम, मिलन लिम्बू र अर्जुनविक्रम शाहीले यसअघि काठमाडौँमा पत्रकार सम्मेलन गरी स्वतन्त्र उम्मेदवार घोषणा गर्दै चुनावी अभियानमा होमिएका छन्।

पहिचानको प्रमुख मुद्दा बोकेर निर्वाचनमा होमिएका थेगिम प्रदेश नामाङ्कनको विषयलाई लिएर कोशीमा आन्दोलनरत ‘प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ को तर्फबाट साझा उम्मेदवार खडा भएका छन्। उनलाई पहिचान पक्षधर पार्टीहरू राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नागरिक उन्मुक्ति पार्टी, जातीय संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत किरात धर्मगुरु आत्मानन्द लिङदेनको समर्थन छ।

त्यस्तै युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने मुख्य मुद्दासहित पत्रकार लिम्बू चुनावी मैदानमा होमिएका छन्। उनी नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० का महसचिव र दृष्टि न्यूज डटकमका सम्पादक हुन्। उता युवाकै मुद्दा लिएर इलाम आएका पाहुना उम्मेदवार शाहीसमेत भेटघाटमा व्यस्त छन्।

यस्तै ‘किरात लिम्बूवान प्रदेश नामाङ्कन अभियान’का केन्द्रीय अध्यक्ष प्रेमदीप लिम्बू स्वतन्त्र उम्मेदवारी घोषणा गरी चुनावी अभियान थालेका छन्। शुक्रबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरी अभियानका अध्यक्ष लिम्बूले पहिचानवादी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। उनले पहिचानको आन्दोलनलाई सार्थक रूप दिन तथा कोशी प्रदेशको नाम परिवर्तन गरी ‘किरात लिम्बूवान’ बनाउन केन्द्रीय तहदेखि नै पहल गर्न उम्मेदवारी रहेको बताए। उनले इलाम–२ को विकास निर्माणलाई गति दिनसमेत आफ्नो उम्मेदवारी रहेको बताए।
ःभतचय ःबचत
धयचमिष्लिप

उता जिल्लाका कुनै पनि राजनीतिक दलहरूले अहिलेसम्म उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन्। उम्मेदवार चयनमा सर्वसम्मत हुन नसकेपछि नेपाली कांग्रेसले सात, नेकपा ९एमाले० ले छ र जनता समाजवादी पार्टीले तीन जना आकाङ्क्षीको नाम केन्द्रीय समितिमा सिफारिस गरी पठाएका छन्। सिफारिसमा परेका सबै नेताहरू आफूले टिकट पाउने विश्वस्त हुँदै निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन्।

कांग्रेसले महासमिति सदस्य भेषराज आचार्य, पूर्वराज्यमन्त्री केशव थापा, जिल्ला सभापति डम्बरबहादुर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, पूर्व जिल्ला उपसभापति शान्तिकला तामाङ ९राई० र महासमिति सदस्य चन्द्रमाया लिम्बूको नाम केन्द्रमा सिफारिस गरी पठाएको छ। तर, केन्द्रले नाम टुङ्गो लगाउन बाँकी रहेको सभापति खड्काले जानकारी दिए। खड्का गत वर्षको निर्वाचनमा एमाले नेता एवं संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङसँग एक सय १४ मतले मात्र पराजित भएका थिए।

एमालेले पनि स्वर्गीय नेम्वाङपुत्र सुहाङ नेम्वाङसहित छ जनाको नाम यसअघि नै केन्द्रीय समितिमा पठाइसकेको छ। तर, उम्मेदवार टुङ्गो लगाउन सकेको छैन। एमालेले नेम्वाङसहित उपसचिव रवीन्द्र सुवेदी, जिल्ला सदस्य डा देवीक्षेत्री दुलाल, इलाम–२ क्षेत्रीय अध्यक्ष बुद्धिप्रसाद खनाल, नेता नरेन्द्रनाथ भट्टराई र पार्टी कोशी प्रदेश सदस्य रिपल राईको नाम सिफारिस गरी पठाइएको जिल्ला सचिव उमेश गुरुङले जानकारी दिए।

जनता समाजवादी पार्टीले केन्द्रीय सल्लाहकार डा महेन्द्र लावती, केन्द्रीय सदस्य लोकसागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बूको नाम पठाए पनि टुङ्गो लाग्न सकेको छैन।

राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी चयनका लागि प्रारम्भिक निर्वाचन गरी उम्मेदवार छनोट गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। रास्वपाले उपनिर्वाचनमा उम्मेदवार बन्न प्रारम्भिक निर्वाचनका लागि १४ गते दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता, साँझ ८ बजेसम्म प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन, १५ गते दिउँसो १ बजेसम्म प्रारम्भिक उम्मेदवारउपर दाबीविरोध, साँझ ५ बजेसम्म उम्मेदवारहरूसँग छलफल, साँझ ८ बजे अन्तिम उम्मेदवार नामावली प्रकाशन, १६ गते साँझ ७ बजेसम्म मतदान र निर्णय गरी १७ गते दिउँसो १ बजे नतिजा प्रकाशन गरी उम्मेदवार सार्वजनिक गर्नेछ। रास्वपाको उम्मेदवार सार्वजनिक गर्न गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने इलाम आउने कार्यक्रम रहेको रास्वपा इलामले जनाएको छ।

उता नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य साना दलहरूले उम्मेदवार सिफारिस नै गरेका छैनन्। एकीकृत समाजवादीका तर्फबाट सम्मानित नेता झलनाथ खनालले इलाम–२ मा उम्मेदवार बन्ने चर्चा रहे पनि आधिकारिक निर्णय नभएको समाजवादी इलाम अध्यक्ष भक्त केसीले बताए।

इलाम–२ मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। विसं २०७९ को निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि आयोगले चैत २४ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ। उपनिर्वाचनका लागि इलाममा २० वटा राजनीतिक दलले दल दर्ता गराएका छन्।

नयाँ सत्ता समीकरणले एमालेलाई सहज
गत वर्षको निर्वाचनमा पार्टीले पाएको समानुपातिक मत विश्लेषण गर्दा यसपटकको इलाम–२ उपनिर्वाचनमा जितका लागि नयाँ सत्ता समीकरणले एमालेलाई सहज भएको छ। विसं २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा सदर मतमध्ये सबैभन्दा धेरै नेकपा ९एमाले० ले २६ हजार पाँच सय ६२ मत पाएको थियो। त्यसपछि नेपाली कांग्रेसले २२ हजार तीन सय ३३, माओवादी केन्द्रले पाँच हजार एक सय ५३, राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ६८, मङ्गोल नेशनल अर्गनाइजेशनले एक हजार छ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार चार सय १३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार तीन सय २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार एक सय ९१ र जनता समाजवादी पार्टीले नौ सय छ मत प्राप्त गरेको थियो। अन्य साना पार्टीहरूले नौ सय मत कटाएनन्। 

निर्वाचनमा माओवादी केन्द्रले समर्थनमा कांग्रेसका उम्मेदवार खड्का एमालेका उम्मेदवार स्वर्गीय नेम्वाङसँग एक सय चार मतले मात्र पराजित भएका थिए। नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार नौ सय छ मत पाएका थिए। नयाँ सत्ता समीकरणसँगै यसपटक माओवादीको मत एमालेले पाउने भएपछि जितमा सहज हुने एमालेको विश्वास छ। तर, कोशी प्रदेश नामकरणसहित एमालेलाई पहिचान विरोधीको ट्याग लागेको छ। पछिल्लो समय उदाएका नयाँ पार्टी, पहिचानको आन्दोलन तथा उनीहरूको साझा उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारका कारण एमालेलाई पनि यो निर्वाचन जित्न त्यति सहज भने छैन। 

गत वर्षको निर्वाचनमा इलाम–२ को मतदाता एक लाख १५ हजार तीन सय ४२ रहेकामा ६९ हजार चार सय ८१ मत खसेको थियो। खसेको मतमध्ये ६६ हजार आठ सय ८५ मत सदर र दुई हजार पाँच सय ९६ मत बदर भएको थियो।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया