विराटनगर । पहिचान पक्षधरले झापामा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा अवरोध गर्ने तयारी गरेका छन् ।
कोशी प्रदेशको नामकरणविरुद्ध आन्दोलन गर्दै आएको प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले प्रधानमन्त्रीलाई लक्षित गरेर कार्यक्रममा अवरोध गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री ओली आइतबार र सोमबार झापाका विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।
कार्यक्रममा विभागीय मन्त्री, प्रदेशसभा सदस्य र एमाले नेतालगायत सहभागी हुने बताइएको छ । ओलीले आइतबार झापाको मेचीनगरमा मावनसेवा आश्रम भवनको शीलान्यास र दमक नगरपालिका–३ मा नवनिर्मित विजनेश टावरको उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यस्तै, सोमबार दमक–३ मै बेलडाँगी खानेपानीको उद्घाटन, गौरादह नगरपालिकाअन्तर्गत महारानीझोडामा जग्गा धनीपुर्जा वितरण, गौरादह बजारमै ताजपुरिया समाजको भेला तथा बिर्तामोडस्थित सीटी सेन्टरमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिका संयोजक प्रेम येक्तेनको अध्यक्षता तथा घटक संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागितामा मंसिर २० गते बिहीबार बसेको संघर्ष समितिको भर्चुअल बैठकले प्रधानमन्त्री सहभागी कार्यक्रममा सशक्त रूपले अवरोध एवं प्रतिरोध गर्ने निर्णय गरेको हो । साथै, बैठकले विराटनगरमा शनिबार हुने नेपाली कांग्रेसको प्रथम कोशी प्रदेश सम्मेलनमा पनि अवरोध गर्ने निर्णय गरेको छ ।