विराटनगर । पहिचान पक्षधरले कोशी प्रदेश सरकारसँग वार्ता नगर्ने भएका छन् । पहिचानवादी मोर्चाले ताप्लेजुङको पाथीभरा क्षेत्रको विवादका विषयमा प्रदेश सरकारसँग वार्ता नगर्ने स्पष्ट पारेको हो ।
पाथीभरामा केबलकार निर्माण सुरु भएपछि विरोधमा रहेको पहिचान पक्षधर र प्रहरीबीच गत शनिबार झडप भएको थियो । झडपमा २१ प्रहरी र ५ जना प्रदर्शनकारी घाइते भएका थिए ।
घाइते प्रदर्शनकारीमध्ये २ जनालाई गोली लागेको थियो । झडपपछि प्रदेश सरकारले वार्ताका लागि पहिचान पक्षधरलाई मंगलबार आह्वान गरेको थियो । तर, पहिचान पक्षधरले प्रदेश सरकारसँग वार्ता गर्नुको कुनै औचित्य नरहेको जनाएको छ ।
केबलकारको विषयमा वार्ता गर्दा संघीय सरकारसँग मात्रै गर्ने पहिचानवादी मोर्चाको अडान छ ।
‘प्रदेशले वार्ताका लागि बोलाएको छ भन्ने सुन्यौं । तर, आधिकारिक रुपमा हामीलाई थाहा छैन । यो प्रदेशको तहले समाधान गर्नसक्ने विषय रहेन,’ आन्दोलनरत किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले भन्नुभयो, ‘सबै विषय केन्द्रसँग जोडिएको छ । यो (वार्ता) केन्द्रको विषय रहन्छ ।’
आन्दोलन र दमनको सबै विषय केन्द्रसँग जोडिएका कारण प्रदेशसँग वार्ताको औचित्य नरहेको उहाँको दाबी छ ।
केबलकार निर्माणको अधिकारदेखि त्यसको विरोधमा आन्दोलन हुँदा गोली चलाउन आदेश दिने तथा मानव अधिकार उल्लंघनलगायतका विषय केन्द्रसँग जोडिएको अध्यक्ष येक्तेनले बताउनुभयो । उहाँले केन्द्र सरकारसँग मात्रै वार्ता हुने स्पष्ट पार्नुभयो ।
XkVZNFIRePJSP
tLBhwHAYBNdHls
XkVZNFIRePJSP
tLBhwHAYBNdHls