.

इलाममा सडक पुनर्निर्माणको माग गर्दै आन्दोलन घोषणा

प्राकृतिक प्रकोपबाट क्षतविक्षत बनेको सडक सञ्जाल र भौतिक पूर्वाधार पुनर्निर्माणमा सरकारले उदासीनता देखाएको भन्दै ‘सचेत इलामेली नागरिक’ ले आन्दोलनको घोषणा गरेको छ ।

२०८२ असोज १८ र १९ गतेको बाढीपहिरोपछि इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरिए पनि हालसम्म पुनर्निर्माणका काम सुरु नभएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका हुन् स्थानीय अगुवाहरुले जारी गरेको विज्ञप्तिमा बाढीपहिरोले सडक सञ्जाल छिन्नभिन्न हुँदा इलाम, पाँचथर र ताप्लेजुङको जनजीवन कष्टकर बनेको उल्लेख छ ।

सडक अवरुद्ध हुँदा पर्यटन, व्यापार र कृषिजन्य उद्योगहरू शून्य प्रायः भएको र आर्थिक गतिविधि ठप्प भएको जनाइएको छ ।राजनीतिक दल र उद्योग वाणिज्य संघले पटकपटक ध्यानाकर्षण गराउँदा समेत सरकार मौन बसेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको संयोजक ईश्वर चिपालुद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

सचेत नागरिक समूहले पहिलो चरणका संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको छ । आज एक घण्टा मेची राजमार्ग सांकेतिक रूपमा बन्द गरिने भएको छ ।दिउँसो १२ः३० देखि १ः३० बजेसम्म सडक डिभिजन कार्यालय, इलाम घेराउ र तालाबन्दी गरिएको छ ।

यसैगरी, दिउँसो २ः०० देखि ३ः०० बजेसम्म जिल्ला प्रशासन कार्यालय, इलाम घेराउ गरी ध्यानाकर्षण पत्र बुझाइने जनाइएको छ।आन्दोलनकारीले आफ्ना माग पूरा नभए सरकारले घोषणा गरेको निर्वाचन कार्यक्रम समेत बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

दोस्रो चरणको आन्दोलन अन्तर्गत जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने र माग सम्बोधन नभएसम्म निर्वाचन प्रक्रियामा सहभागी नहुने उनीहरूको अडान छ ।

मेची राजमार्ग र वैकल्पिक सडकहरूको पुनर्निर्माणका लागि ३ दिनभित्र ठोस कदम नचाले आम हड्तालसहितका कडा आन्दोलनमा उत्रिने चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया