कोशी प्रदेश सरकारले नवप्रवर्तनकारी सोच भएका युवा तथा नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्न बिउपुँजी उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै नयाँ उद्यम गर्न चाहनेहरूबाट परियोजना प्रस्ताव माग गरेको हो ।
मन्त्रालयले ‘स्टार्टअप उद्यम बिउपुँजी परिचालन कार्यविधि, २०८२’ बमोजिम योग्यता पुगेका इच्छुक उद्यमीहरूलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। नवीनतम् ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीहरूले विराटनगरस्थित मन्त्रालय वा आफूलाई पायक पर्ने जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयहरूमा प्रस्ताव पेश गर्न सक्नेछन्।
स्वीकृत कार्यविधि अनुसार विशेषगरी कृषि, पर्यटन, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा नयाँ र सिर्जनशील काम गर्न चाहने स्टार्टअपहरूलाई प्राथमिकता दिइनेछ। कार्यविधिको दफा ४ बमोजिम तोकिएको मापदण्ड पूरा गरेका र अनुसूची–१ मा उल्लेखित क्षेत्रका उद्यमहरू मात्र यसका लागि योग्य मानिनेछन्।
छनोट प्रक्रियालाई पारदर्शी बनाउन मन्त्रालयले विज्ञ टोलीमार्फत प्रस्तावहरूको मूल्याङ्कन गर्ने व्यवस्था गरेको छ। आवेदनसँगै उद्यमीले आफ्नो व्यवसायको विस्तृत योजना, लागत अनुमान र अपेक्षित उपलब्धिको खाका पेश गर्नुपर्नेछ।
मन्त्रालय स्रोतका अनुसार, छनोट भएका प्रत्येक स्टार्टअपले आफ्नो परियोजनाको प्रकृति र आवश्यकता हेरी अधिकतम ५ लाख रुपैयाँसम्म बिउपुँजी प्राप्त गर्न सक्नेछन्। यो रकम किस्ताबन्दीमा उपलब्ध गराइने र यसको सदुपयोगको नियमित अनुगमन समेत गरिने कार्यविधिमा उल्लेख छ।
प्रदेश सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवा र स्वदेशमै केही गर्न चाहने जनशक्तिलाई उद्यमतर्फ आकर्षित गर्न यो कार्यक्रम ल्याएको हो।